© २०२३
सल्यान, २१ असार ।
अपांगता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातीहरुका लागि एक दिने क्षमता विकास कार्यक्रम सल्यानको भोटेचौरमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय सल्यानको आयोजनामा शुक्रबार अपांगता भएका व्यक्ति, महिला, दलित, लोपोन्मुख तथा जनजातीहरुको हक अधिकार, सेवा सुविधा, अवधारणा तथा कानुनी प्रावधान लगाएतका विषयमा जानकार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्ध कुमारी खत्रीले शुभकामना मन्तव्य राख्दै गाउपालिका भित्र लक्षित समुदायका लागी आर्थिक, सामाजिक तथा विकासात्मक कार्यक्रम सञ्चालन संगै सामाजिक न्याय र समानता कायम गर्नका लागी वित्रिन्न क्रियाकलापहरु सञ्चालन भइरहेको बताए ।
मानव अधिकारकर्मी रामचन्द्र रेग्मी र कल्याणकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बुढाले अपांगताको विषय, जातीय विभेद तथा छुवाछुत सम्बन्धी अवधारणा र कानुनी प्रावधान, लैंगिकताको विषयमा अभिमुखीकरण गरेका थिए । कार्यक्रममा जिल्ला सेवा केन्द्रबाट सेवा लिँदा अपनाउनुपर्ने प्रक्रिया, समाजसेवी र बालकल्याण अधिकारीको भूमिका लगायतका विषयमा समेत छलफल गरिएको सामाजिक विकास कार्यालयका प्रतिक्षा तक्मेलले जानकारी दिइन् ।
सामाजिक विकास कार्यालय सल्यानका दिलिप ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नं ७ का वडाध्यक्ष टेक बहादुर विष्ट, विभिन्न शाखाका प्रमुख प्रतिनिधीहरु, पत्रकार र लक्षीत वर्गका स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख शारदा वलीले स्वागत मन्तव्य राखेकी थिइन् ।