© २०२३
बुटवल, २१ असार ।
उ बेला समय कहाँ अहिलेको जस्तो सजिलो थियो र, गीतसंगीत सुन्ने एउटा मात्र विकल्प रेडियो नेपाल थियो, कुना कन्दारामा मानिसहरु आफ्नै गाउँ ठाउँका गीतहरु गुनगुनाउँथे, गाउथे वा उकाली ओराली गर्दा गीतसंग नै दुख साट्थे ।
२०४५ सालमा भदौरे झरीको महिनामा पर्वतको शालिजामा एउटा सामान्य परिवारमा जन्मेका हुन् गीतकार शिव सुवेदी । बाबा आमा कृषि पेशा गर्नुहुन्थ्यो, परिवारमा जेठो छोरोको रुपमा जन्म लिएका शिवले बाल्यकाल गाउँमा नै बिताए । हुने विरुवाको चिल्लो पात भने जस्तै उनी कक्षा १ देखि १० सम्म सधै प्रथम नै भए कैले दोश्रो हुन परेन । संयोग भनौं कि भाग्य, एसएलसीमा आफ्नो बिधालयबाट परिक्षा दिएका ५५ जना मध्ये उनी एक जना मात्र प्रथम श्रेणीमा उत्तीर्ण भए ।
शिवको परिवारमा एसएलसी भन्दा धेरै पढ्ने त्यो बेला सम्म अरु सदस्य हुनुहुन्थेन, बाबा आमाले त स्कुल जाने अवसर नै पाउनु भएको थिएन तर त्यो बेलाको समाजले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि विज्ञान नै पढ्न पर्छ भन्ने भाष्य निर्माण गरेको थियो र सोही भाष्यलाई स्वीकार्दै शिव पोखरा आए ।
उनी सानै उमेरबाट नै गीत संगीत भनेपछि हुरुक्क हुन्थे, विद्यालयमा अतिरिक्त कार्यक्रम हुँदा पुरस्कार नलिएको त बिरलै हुन्थ्यो । त्यै प्रतिभा पोखरा आएपछि फक्रन थाल्यो । पोखरामा विज्ञान पढ्दै गर्दा उनले गीत लेख्न सुरु गरे र गीत रेकर्ड पनि गर्न थाले । २०६४ सालमा शिवले शब्द लेखेको र संगीत गरेको गीत ‘घामजस्तो चम्किलो जुन हँुदैन’ सुपर हिट भयो । अडियो बिक्री हुने बेलामा हजारौं प्रति क्यासेट बिक्री भयो र उनले नाम संगै दाम पनि कमाए ।
जव घामजस्तो चम्किलो गीतले शिव चिनिन थाले, उनले गीत लेखन लाई अझै नियमित गर्न लागे, त्यसपछि उनले रचना गरेका गीतहरुले उत्तिकै सफलता कमाए, कैले पनि शिवलाई पछाडी फर्केर हेर्न परेन । शिवले आफ्ना उत्कृष्ट गीतबाट आजसम्म ६ वटा राष्ट्रिय अवार्ड जितिसकेका छन्, दर्जनौं संस्थामा बसेर काम गरिसकेका छन् भने उनको योगदानको कदर गर्दै धेरै संस्थाले उनलाई सम्मान गरेका छन् ।
शिवले विगत करिव २० बर्षको अन्तरालमा ५० भन्दा धेरै गीतहरु लेखे । घामजस्तो चम्किलो जुन हुदैन, भुमरीमा परे भने म, आमा तिम्रो दुधको भारा, भुल्नै भयो धौ, कल्पनामै भए नि देख्छु भनेको, घामले नि पोल्दियो, सरुमै रानी, किन यस्तो हुन्छ, मेरो आधा जिन्दगी, जुनकै अभाव खड्कियो, खै हाम्रो दिलमा त घामै लागेन, यस्तै छ कहानी परदेशीको, बाँचेको छु धन्न, अभागी त म हुँ, आफ्नोपन, कसको अनुमति, दुख टर्या छैन लगायतका गीतहरु सफल गीतको रुपमा नेपालीहरुको मन मनमा बसेका छन् ।
संगीत र विज्ञान ठ्याक्कै विपरित ध्रुवका विषय हुन, विज्ञानले सत्य तथा तथ्यमा टेकेर काम गर्न भन्छ तर शिव विज्ञानको विद्यार्थी हुँदै गर्दा पनि गीत भावनामा बहकिएर, कल्पनामा बगेर गीत लेख्न सिपालु मानिन्छन् । उनले आफुलाई नेपाली लोक दोहोरीमा निरन्तर काम गर्दा गर्दै पनि औपचारिक शिक्षाको उच्चतम उपाधि बिधावारिधि लिन सफल भए । सन् २०२० मा स्विजरल्याण्डको लुजान विश्वविद्यालयबाट भूकम्प विज्ञानमा विद्यावारिधिको उपाधि प्राप्त गरेका हुन् । शिवले फ्रान्स र स्विजरल्याण्ड बस्दै गर्दा पनि आफ्नो कलम चलाइरहे र गीत प्रकाशन गरिरहे ।
नेपाली गीतसंगीतमा वा लोकदोहोरीमा लागेपछि मान्छेले पढाई बिगार्छ वा गीतसंगीतमा लाग्नेहरु पढ्न नसक्नेहरु हुन भन्ने जुन नेपाली समाजको परिभाषा थियो र केही हद सम्म आज पनि छ, त्यो परिभाषा बदल्नको लागि एउटा उदाहरण बनेका छन् चर्चित, लोकप्रिय र सफल गीतकार शिव सुवेदी ।