© २०२३
बुटवल, १६ असार ।
तिलोत्तमा–११ कालिकास्थान रुपन्देहीमा व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ । आइतबार साँझदेखि सुरु हुने महोत्सव असार २७ गतेसम्म चल्नेछ ।
कालिका टोल विकास समितिको आयोजनामा हुने सांस्कृतिक महोत्सवमा ज्योती मगर, शान्तिश्री परियार, बद्रि पंगेनी, दुर्गेश थापा, समीक्षा अधिकारी, खुमन अधिकारी, अस्मिता डल्लाकोटी, रमेशराज भट्टराई, मञ्जु भट्टराईलगायत झण्डै ३ दर्जन कलाकारले आ–आफ्नो प्रस्तुती देखाउने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।
कालिका टोल विकास समितिका अध्यक्ष राजेन्द्र मल्लले स्थानीय कला, संस्कृतिको विकास गर्न र व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवमा कालिकास्थान डान्स आईडल समेत राखिएकाले यसबाट स्थानीय कला र संस्कृतिको विकासमा ठूलो योगदान पुग्ने बताए । कालिकास्थान डान्स आइडलको बिजेतालाई नगद पुरस्कार समेत राखिएको मल्लले जानकारी दिए ।
महोत्सव हरेक दिन साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवमा बाल उद्यानका अतिरिक्त विविभ सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । त्यस्तै विभिन्न व्यापारिक स्टलहरु समेत महोत्सवमा राखिने छन् । महोत्सवका लागि १०० रुपियाँ प्रवेश शुल्क राखिएको र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट उपलव्ध गराइने उनले बताए ।
पत्रकार सम्मेलनमा मेलाका संयोजक गणेश खत्री, भावना एम्यूजमेन्ट प्रालिका अजय बुढाथोकी, महोत्सवमा सहकार्य गरेका एनवी श्रेष्ठलगायतले महोत्सवबाट संकलित रकमको निश्चित प्रतिशत सामाजिक काममा खर्चिने प्रतिवद्धता व्यक्त गरेका थिए ।