© २०२३
सुर्खेत, १५ असार ।
कर्णालीमा शुक्रबारदेखि ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ सुरु भएको छ । कर्णालीको लोक, कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यले प्रदेशको राजधानी वीरेन्द्रनगरमा उक्त सम्मेलन सुरु भएको हो ।
राष्ट्रि« लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेश र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा दुई दिने सम्मेलन सञ्चालन गरिएको हो ।
सम्मेलको उद्घाटन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति धुर्व गौतमले कर्णालीको लोक संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले लोप हुन लागेका संस्कृतिहरु बचाइराख्नु सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा कर्णालीको लोक, साहित्य र संस्कृतिको बारेमा वृहत रुपमा बहस गरिने आयोजकले जनाएको छ । त्यसका लागि कर्णालीभित्रका कलाकार, संस्कृतविद् तथा लेखकहरुको सहभागिता रहेको छ ।
कर्णालीको संस्कृति र मौलिक नाच हुड्के, मारुनीदेखि विभिन्न मौलिक कला र संस्कृतिको जगेनार्थ उक्त कार्यक्रम गरिएको राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानकी प्रदेश अध्यक्ष हरिमाया कार्कीले बताइन् ।
कार्यक्रममा विभिन्न कर्णालीको सभ्यता र संस्कृतिका विभिन्न विधामा रहेर बहस हुने छ । कार्यक्रमको पहिलो दिन ‘कर्णालीको संस्कृति नेपालमा र नेपालको संस्कृति विश्वमा’ शीर्षकमा जोगेन्द्र केसी, रिता थापा मगर, वरिष्ठ कलाकार प्रेमदेव गिरी र कृष्णराज धमलाले बहस गरेका छन् ।
यस्तै शनिवार ‘प्राकृतिक नेपाली भाषा र कर्णाली सभ्यता’ शीर्षकमा डा. जीवेन्द्र देव गिरी, डा. महेन्द्र कुमार मल्ल, पण्डित तिलक रिजाल, खडानन्द चौलागाईँले बहस गर्नेछन् ।
वरिष्ठ कलालकार गंगा केसी, कुलमान नेपाली, भीमबहादुर कार्कीको कथावाचन रहेको छ भने ‘कर्णालीको संस्कृति कति छ र कति छैन’ शीर्षकमा लेखक ओम रिजाल, मोतिराज बम र बसन्ती शाहीले बहस गर्नेछन् । साथै अन्य विभिन्न सांस्कृतिक नाच तथा कर्णालीको सभ्यताको उत्खननका विषयमा छलफल तथा बहस हुने बताइएको छ ।