© २०२३
नेपालगञ्ज, १० असार ।
बाँकेमा यस बर्ष आठ मध्ये छ वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित भएका छन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आईतबार एक कार्यक्रमका विच राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेसँगै घोषित हुने पालिका छ पुगेका हुन् ।
जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले पुर्ण खोप घोषणा गर्दै पालिकाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले सबै सरोकारवालाको सहयोगमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणाको कार्यले पूर्णता पाएको बताए ।
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी स्वास्थ्य क्षेत्रमा जिल्लाकै नमूना पालिकाको रुपमा काम गरिरहेको दाबी गरे ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जन्मिएका बालबालिकाहरुको पहिलो सुरक्षाको रुपमा खोप रहेकोले सबै बालबालिकाहरुलाई सम्पूर्ण खोप प्रदान गर्नुपर्नेमा जोड दिए । बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने भएकाले कुनै पनि खोप छुटाउन नहुने भन्दै सबैले आ–आफ्नो तहबाट सहयोग गर्न आग्रह गरे । प्रमुख शाहीका अनुसार कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिका अझै घोषणा हुन बाँकी छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर श्रेष्ठले बाँकी रहेका दुईवटा पालिकामा पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने मापदण्ड पुरा गर्ने कार्य तीव्र गतिमा भइरहेकोले छिट्टै घोषणा गरिने बताए । उनका अनुसार पाँचवर्ष मुनिका सबै बालबालिकालाई खोप लगाएर पालिकाले प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु पर्दछ । सबै पालिका घोषणा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने योजना छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिकालाई प्रत्येक महिना नै १३ प्रकारका रोग विरुद्ध खोप लगाउने गरिन्छ ।