© २०२३
काठमाडौं,४ असार । संघीय सरकारको वजेटप्रति सत्ता पक्षकै सांसदहरुले आक्रोश पोखेका छन् । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउंदै अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको ढोका नै बन्द गरेको गुनासो पोखे । बजेटमाथि मन्त्रालयगत छलफलको क्रममा प्रतिनिधिसभामा बोल्ने क्रममा उनले बजेटमाथि असन्तुष्टि पोखे ।
सरकार फेरियो, सत्ता समीकरणको प्रतिबद्धता पनि फेरियो । अर्थमन्त्रीले छलाङ हानिन्छ भन्नुभयो तर छलाङ त जसको हातमा डाडुपन्यु त्यतैतिर हानिएको छ भन्दै ब्यङग्य गरे । बजेटमा सत्ता समीकरणको कतै छनक नदेखिएको उनले जिकिर गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए ।
वजेटको रातो किताबमा डोटी जिल्लाको नाम कतै छैन भन्दै उनले डोटीमा त्यहाँको बस्ती डुबान भयो भने छोड्नेवाला छैन, खबरदार भन्दै चेतावनी दिए । यदि बस्ती डुबान भयो, बगेर गयो, मानवीय क्षति भयो भने यही सदनमा बदला लिने चेतावनी दिए । नेपाली कांग्रेसका सांसद डा प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी साना योजनालाई बजेटमा राखेको बताए । महतले ३ खर्ब ३० अर्ब पुँजीगत खर्चमा ५५ अर्बभन्दा बढी १ करोडभन्दा तलका आयोजनामा समावेश गरिनुको एउटै उद्देश्य कार्यकर्तालाई रकम बाँड्ने हो भने ।
उनले ५५ अर्ब राज्यको रकम उपभोक्ताका नाममा पार्टीका कार्यकर्ताले दुरुपयोग गर्ने बताए ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले बजेट विनियोजन गर्दा दार्चुलालाई बजेट नपठाएको विरोधमा एक मिनेट मौनधारण गरेका हुन् ।
उनले आफ्नो देशको एक ठाउँबाट अर्को ठाउँमा जान भारतबाट जानुपर्ने अवस्था रहेको सुनाए ।
सांसद बडूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा जोडिएको क्षेत्रमा बजेट नराखेकोप्रति आपत्ति जनाए ।
चुच्चे नक्सा बनाउँदा सबैको सहमति भए पनि त्यहाँ सडक निर्माणमा भौतिक पूर्वाधारमन्त्रीले बेवास्ता गरेको उनले आरोप लगाए ।