© २०२३
सल्यान, ३२ जेठ । चर्को गर्मीका कारण विद्यार्थी बेहोस हुने लगाएतका समस्या देखिएपछि सल्यानमा पनि दुई स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । जिल्ला स्थित शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकाले सूचना प्रकाशन गरेर शुक्रबारदेखि विद्यालय बन्द गरेका हुन् । त्रिवेणी गाउँपालिकाले बर्खे बिदाबाट कटौती हुने गरी एक साताका लागि र शारदा नगरपालिकाले तीन दिनका लागि पालिकाभरका विद्यालय बन्द गरेका छन् । त्रिवेणी गाउँपालिकामा ३४ विद्यालयमा ५ हजार र शारदा नगरपालिकाका ६८ विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत रहेको सम्बन्धीत पालिकाहरुको विवरणमा उल्लेख छ ।
शारदा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार विद्यार्थी बिरामी भएको र पठनपाठन नै प्रभावित भएपछि विद्यालय बन्द गरिएको हो । गर्मी नघटे एक साताको बिदा दुई साता लम्ब्याइने नगरपालिकाले जनाएको छ ।
यस्तै गर्मीले विद्यार्थी बेहोस हुने, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएपछि विद्यालय बन्द गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए । उनका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि डाक्टरसहितको टिमले पालिकाका केही विद्यालयमा अनुगमन गरेको थियो । गर्मीकै कारण विद्यार्थीमा विभिन्न किसिमको समस्या देखिएको स्वास्थ्यकर्मीको टोलीले जानकारी गराएपछि विद्यालय बन्द गरिएको उनको भनाई छ ।