Butwal Today

कपिलवस्तुमा बसले पिकअप भ्यानलाई ठक्कर दियो, चालकको मृत्यु, ८ जना घाइते

२९ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

कपिलवस्तु, २९ जेठ ।

कपिलवस्तुमा आज बिहान बस र पिकअप भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक महेन्द्र विक्रम शाहीका अनुसार बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा मंगलबार बिहान ६ बजे काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किएका हुन्।

‘दुर्घटनामा पिकअपका चालक कपिलवस्तुको शिवराज नगरपालिका घर भएका हिरालाल बढईको घटना स्थलमै मृत्यु भएको छ,’ शाहीले भने, ‘दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।’

बसले ठक्कर दिँदा पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। उद्धारमा ढिलाई हुँदा उनको मृत्यु भएको हो।

घाइते ८ जनालाई उपचारको लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।