© २०२३
पाल्पा, २५ जेठ ।
निस्दी गाउँपालिकाको वाकामलाङमा रहेको भोटाहा घाटबाट अवैध रुपमा ठुलो परिमाणमा नदीजन्य वस्तुहरुको ओसार पसार हुँदा स्थानीय सरकारका प्रतिनिधि रमिते बनेका छन् ।
कालीगण्डकी नदीबाट अवैध रुपमा ठूलो परिमाणमा नदीजन्य बस्तुको अवैध रुपमा उत्खनन हँुदा स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार, राजनैतिक दल सबै मौन रहँदा यस्ता अवैध कार्यले प्रश्रय पाएको स्थानीयहरुको गुनासो रहेको छ ।
निर्माण व्यवसायीले सडक सडक ग्राभेल गर्ने उद्देश्यले यस घाटबाट दैनिक सय भन्दा बढी टाली गर्दै ढुवानी गर्दै आएको स्थानीय कल्पना बिकले बताइन् । “हामीले पटक पटक स्थानीय सरकारका प्रतिनिधिलाई जानकारी गराउँदा सम्म कुनै सुनुवाई नै भएन । यस घाटबाट रातीको समयमा सम्मओसार पसार हुन्छ । यसरी चोरी निकासी भएको छ भन्ने विषयमा वडा अध्यक्ष समेत अनभिज्ञ छैनन्”–उनले भनिन् ।
यहाँबाट अवैध रुपमा निकासी भएको वालुवा गिट्टी अर्को जिल्ला पुर्वी नवलपरासी गाउँगाउँ र नगरपालिका सम्म लैजाने गरेको स्थानीयहरु बताउँछन् । निर्माण व्यवसायीको सेटिङमा भएको कारण स्थानीय सरकार, प्रहरी प्रशासन सबै मौन रहेको स्थानीयहरुको बुझाई रहेको छ । दिन रात नदी दोहन गरेका कारण नदीले धार परिवर्तन गरेको छ । प्रत्यक्षरुपमा खेति योग्य जमिनबाट नदी वहन थालेको स्थानीय देव बहादुर सुर्यवंशी बताउँछन् ।
“यसभन्दा अगाडि वातावरणीय प्रभाव र मूल्यांकन गरी कालीगण्डकी करीडोरलाई आवश्यक सामग्री उपलब्ध गराउने भनियो तर भनिए भन्दा ४ सय गुणा बढी निकालियो । यस्ता अवैध काम गर्नेलाई कारवाही गर्नुको सट्टा राजनैतिक दलको पहुचमा उन्मुक्ती गर्ने काम भएको परिमाण नै यही नै हो”– उनले भने । स्थानीय सरकारका प्रमुख मुक्तबहादुर शारु भने आफु यस विषयमा बेखवर भएको र चोरी भएको भए तत्काल रोक्ने बताउँछन् । धार्मिक तथा सास्कृतिक महत्व बोकेको कालीगण्डकी नदीबाट नदीजन्य बस्तु उत्खनन नगर्न भन्ने तिनवर्ष अगाडि सर्वोच्च अदालतबाट फैसला भएको थियो । यसैगरी माथागढी गाउँपालिकाबाट नदीजन्य बस्तु दोहन भएको स्थानीयले जनाएका छन् । तिनाउ खोलाबाट दैनिकरुपमा नदीजन्य बस्तु उत्खनन् कार्यमा नियमन निकाय नै क्रियाशिल रहेको स्थानीयहरुको भनाई छ ।