© २०२३
दाङ,२४ जेठ ।
घोराही उपमहानगरपालिकाको न्यायीक समितिले न्यायीक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानूनी साक्षरता अभियानलाई गाउँ बस्तीसम्म पुर्याउने कामलाई निरन्तरता दिएको छ । पालिकाको कानूनी मामिला शाखाले आज घोराही १९ को सैघास्थित वडा कार्यालयमा वडाबासीलाई न्यायीक समितिले प्रदान गर्ने सेवा, न्याय सम्पादनमा अपनाईने विधि प्रकृया र कानुनी साक्षरता बारे जानकारी गराएको छ ।
उपप्रमुख एवम् न्यायीक समिति संयोजक हुमा डिसीले न्यायीक घुम्ती शिविरमा स्थानीय सरकार संचालन ऐनको दफा ४७ ले स्थानीय तहलाई दिएको न्याय निरुपणको क्षेत्राधिकारभित्र रही देवानी सम्बन्धी मुद्दा हेर्ने कामको बारेमा वडाबासीलाई सचेतीकरण गराएकि थिइन् ।
कार्यक्रममा कानूनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले स्थानीय सरकार संचालन ऐन २०७४ को ४७ को १ र २ अन्तरगत न्याय सम्पादन गर्ने काममा दफा १ मा टेकेर १३ प्रकृतिका विवादको मेलमिलाप वा अन्तिम निर्णय गर्ने गरिएको तथा दफा २ टेकेर ११ प्रकृतिका मेलमिलापको काम हुने गरेको जानकारी गराइन।
पालिकाले हालसम्म १२ सय बढी विवाद उपर छलफल गरी न्याय निरुपणको काम गरेको पनि उनले बताइन् । दूरदराजका नागरिकलाई पर्न सक्ने थिचोमिचो, समस्या तथा अन्यायलाई सहज रुपमा मिलापत्र गर्ने गरी वडा तहमा पनि मेलमिलापकर्ता मार्फत सेवा दिने काम भईरहेको जानकारी गराउँदै दुवै पक्षलाई जीत भएको महसुस गराएर न्याय दिने काम न्यायीक समितिले गर्दै आएको बताइन् ।
पछिल्लो समय न्यायीक इजलासबाट हुने नियमित न्याय सम्पादनसँगै न्यायीक घुम्ती शिविरमार्फत कानूनी साक्षरता प्रदान गर्ने र समुदायमा कोही कसैलाई समस्या परेको भए ठाउँमा पुगेर न्याय निरुपण गर्ने काम समेत भई रहेको न्यायीक समिति संयोजक डिसीले बताइन ।
कार्यक्रममा वडा सदस्य हुकुमा घर्ती मगरले कानूनी साक्षरतासँगै समुदाय स्तरमा न्यायीक समितिले प्रदान गर्ने सेवाका बारेमा जानकारी लिने अवसर पाएको भन्दै सचेतनाको अभियान निरन्तर गर्न आग्रह गरिन ।
बराह क्षेत्र टोल विकास संस्थाका अध्यक्ष टोपबहादुर खड्काले गाउँबस्तीमा आएर कानून र न्यायका बारेमा सचेतना प्रदान गरेर वडाबासीलाई धेरै कुराको जानकारी गराउने काम सराहनीय रहेको बताए ।
वडा अध्यक्ष ज्ञानबहादुर रायमाझी, पालिकाको प्रशासन शाखा प्रमुख बासुदेव आचार्य लगाएतले बोलेका थिए । सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतला कुमारी देवकोटाले गरेकी थिइन् ।