© २०२३
बुटवल, २३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् ।
अधिवेशनको उदघाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि कार्यव्यस्तताका कारण भन्दै अनुपस्थित भए । बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
भैरहवाको सिद्धार्थ भिलासामा आयोजना भएको अधिवेशनको उदघाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, खिमलाल भट्राई, दधिराम न्यौपानेलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहेको छ । जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको अध्यक्ष तेजेन्द्र केसीले बताए ।