© २०२३
बुटवल, २२ जेठ । रुपन्देहीमा जारी जिल्ला फुटबल लिग २०७९/०८० मा चार खेलमा लगातार जित निकाल्दै फर्साटिकर एफसी लिगको उपाधि दाबेदारीमा उभिएको छ । चार खेलमा स्पष्ट जितसंगै फर्साटिकर १२ अंक आफनो खातामा जोड्दै अंक तालिकाको शिर्षस्थानमा रहन सफल भएको हो । प्रतियोगितामा समान खेल खेलेको सुनौलो संगम युवा क्लब ३ खेलमा जित र एक खेलमा बराबरी गर्दै १० अंकका साथ दोस्रो स्थानमा छ । लिग तालिकामा सिम्रिक युवा क्लब २ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ८ अंकसहित तेस्रो स्थानमा छ ।
गोर्खा ब्यायज २ खेलमा जित, १ खेलमा बराबरी र १ खेल पराजित हुदै ७ अंकका साथ चौथौ स्थानमा छ । लिगमा पहिलो चरणको विजेता र उपविजेता दुई टिमसहित कुल १० टिमले खेल्ने भनेपनि झरना स्पोर्टस क्लबले भाग नलिएपछि ९ टिम बिच प्रतिस्प्रर्धा भैरहेको छ । झरना भने स्वत घटुवा भएको छ । अब खेलेका नौ टिममध्ये एक टिम रेलिगेसनमा पर्ने छ । अंक तालिकामा ४ खेलमा हार ब्यहोरेको बुटवल युनाईटेड एफसी अंकबिहिन पुछारमा छ । प्रत्येक टिमले आठ वटा खेल खेल्नुपर्ने हुन्छ ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा देविनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा प्रतियोगितामा उपाधि विजेताले नगद १ लाख, उपविजेताले ५० हजार, तृतिय ३० हजार र २० हजार रुपैया पुरस्कार राशिबाट पुरस्कृत गरिने संघका महासचिव हिमाल गौचनले बताए । १९ दिनसम्म चल्ने प्रतियोगितामा साढे ८ लाख रुपैया खर्च हुने अनुमान आयोजकको रहेको छ ।