© २०२३
बुटवल, १९ जेठ । बुटवलमा हरेक शनिबारजसो साहित्यिक कार्यक्रम हुन्थे, जसमा पुराना स्थापित बरिष्ठ साहित्यकारसहित नवआगन्तुक सिकारु साहित्यकारहरूको समेत जमघट हुन्थ्यो । गजल सागर नेपालले पनि हरेक महिनाको दोस्रो शनिबार हुँदै संगम गर्दै आएको थियो । वि.सं. २०५९ सालदेखि सुरुवात भएको गजल सागर नेपाल नियमित रूपमा कार्यक्रम गर्दै आएको थियो । तर यो पनि कोरोना कालमा केही समय अनलाईनबाट समेत कार्यक्रम गरेपछि हराएको थियो ।
गजल सागर नेपालका सचिव कृष्ण गाउँलेका अनुसार यसलाई निरन्तरता दिने गरी अभियान सुरुवात भएको छ । बुटवल साहित्य संगमको नियमितताको विषयमा अझै ठोस निर्णय नभएपनि गजल सागर नेपालले भने आफ्नो नियमित कार्यक्रमलाई निरन्तरता दिनेगरी अगाडि बढाएको हो । गजल सागर नेपालका पूर्वअध्यक्षहरू रमेश हरिलठ्ठक, शेखर अस्तित्वले नियमित कार्यक्रम गर्दै आएका थिए ।
यसको साथै हालका अध्यक्ष मिन राना पनि कार्यक्रम निरन्तरता दिँदै गर्दा बैदेशिक रोजगारीको कारण गए । त्यसपश्चात केही अनलाइनमार्फत कार्यक्रम भएपनि निरन्तरता पाउन सकेको थिएन । जसलाई अब निरन्तरता दिने अभियान सुरुवात गरिएको गजल सागर नेपालका सचिव कृष्ण गाउँले बताउँछन् ।
बुटवल साहित्य संगम नाम दिइएर सुरुवात भएको यो श्रंखला नेपालमा कोभीड प्रकोप हुने भन्दा पहिला सम्म निरन्तर थियो । प्रत्येक महिनाको अन्तिम शनिवार बुटवलको कुनै स्थानमा जमघट हुने आ–आफ्नो साहित्यिक रचना सुनाउने, अग्रजबाट सल्लाह सुझाव लिने थलोको रूपमा विकास भएको ‘बुटवल साहित्य संगम’ अहिले नियमित कार्यक्रम हुन छाडेका छन् ।
कोभिड पश्चात ३११ औं श्रृंखला कवि चतुर्भुज आत्रेयको निवास बुटवल–११ स्थित योगिकुटीमा भएको पाईन्छ । त्यसपछि अभियानले निरन्ता पाउन सकेको छैन । पछि ३ सय १७ औ श्रृंखला सम्म भएपछि यत्तीकै रहेको बताईन्छ ।
गजल सागर नेपालले अब साहित्य पुनः जमघट गराउने गरी शनिबार बुटवलमा काव्य मञ्जरी गरिएको छ । बुटवल योगीकुटीमा आयोजना गरिएको काब्य मञ्जरीमा गजलकार शुशिल सापकोटाको मान्छे बन्नपर्ने थियो, मेसिन बनियो किस्ता किस्तामा….बाट सुरुवात भएको गजल उनले नै दोस्रो पटक अन्तिममा समापन गरेका थिए । गजलकार मिलन समिरले पनि आफ्नो जोशिलो गजलबाट सबैलाई मन्त्रमुग्ध पारे । हाल जापानमा रहेकी कवि जयन्ती मगर सरगमले विदेशदेखि स्वदेश सम्मको विषयलाई गजलको रूपमा प्रस्तुत गरेकी थिईन ।
जोशिला युवा कविको रूपमा पहिचान स्थापना गरेका कवि शंकर भण्डारीको दमदार कविताले सबैको मन छोयो । बीच बीचमा अतिथि र दर्शकले तालिको गडगडाहक तालिको बर्सा समेत गराएका थिए । माओ र लेनिनले गरेको युगान्तकारी परिवर्तन र अहिलेको अवस्थाको विषयमा व्यंगात्मक चोटिलो कविता मार्फत प्रहार गरेका थिए । कार्यक्रममा कवि शंकर भण्डारी, गजलकार शुसिल सापकोटा, कवि जयन्ती मगर सरगम, गजलकार मिलन समिर लगायतले आ–आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार प्राज्ञ रानाले पछिल्लो समयमा विश्वमा मानिसको कारण प्रकृतिले दुःख पाएको बताउँदै प्रकृति जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट साथ दिनुपर्ने बताएका थिए । उनले प्रकृति जोगाउने दायित्व सबैको रहेको भन्दै पछिल्लो समयमा मौसममा आएको परिवर्तनको कारण तापक्रम उच्च रहेको भन्दै सबैजनाले प्रकृति जोगाउनुतर्फ लाग्नुपर्ने बताएका थिए ।
साहित्य जमघटका कार्यक्रम पछिल्लो समयमा हराउँदै गएको भन्दै रानाले पछिल्लो समयमा साहित्यिक कार्यक्रम बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा विशेष अतिथिको रूपमा रहेका ४ जना साहित्यकारहरूले ६/६ वटा दरिला रचना वाचन गरेका थिए । बुटवलको योगीकुटीमा आयोजना गरिएको कार्यक्रममा रूपन्देहीसहित विभिन्न जिल्लाबाट साहित्यका पारखी मनहरूको सहभागीता रहेको थियो ।
गजल सागर नेपालका अध्यक्ष मिन राना हुन्, उनी बैदेशिक रोजगारीको शिलसिलामा रहेको बेला उनको अनुपस्थितिमा कोषाध्यक्ष, सहित महासचिव, सदस्यहरूको सक्रियतामा बुटवलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गजल सागर नेपाल रूपन्देहीका कोषाध्यक्ष शुनिता चुँदाली कुँवर, सदस्य हरिप्रसाद पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।