Butwal Today

नवलपुरमा फेरि पाटेबाघको मृत्यु

१२ जेष्ठ २०८१, शनिबार
अ+
अ-

नवलपुर, १२ जेठ ।

नवलपुरमा दुर्लभ मानिने पाटेबाघ मर्ने संख्या बढ्दै गएको छ । गत चार महिनाको अवधिमा तीनवटा दुर्लभ पाटेबाघ मरेका छन् । बुधबार जिल्लाको विनयीत्रिवेणी गाउँपालिका– २ विनयी खोलाको बगरमा एउटा पाटेबाघ मरेसँगै मृतक बाघको संख्या तीन पुगेको हो ।

विनयी खोलामा पानी पिउँदै गरेको अवस्थामा बाघ देखिएको र पानी पिएको स्थानभन्दा १०–१२ मिटर हिँडेपछि ढलेको स्थानीयले बताएका छन् ।

स्थानीयले खबर गरेपछि डिभिजन वन र प्रहरीको टोली घटनास्थलमा पुग्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए ।

यो पटक भने बाघसँगै जुधेर घाइते भएको बाघ मरेको हो । बाघको पोष्टमार्टम गर्दा अर्को बाघसँग जुधेर घाइते भएको र घाउ निको नभएका कारण मृत्यु भएको खुलेको हो । चितवन राष्ट्रिय निकुन्जका बरिष्ठ चिकित्सक बिजय कुमार श्रेष्ठको टोलीले बिहीवार पोष्टमार्टम गरेको हो ।

पोष्टमार्टम रिपोर्टमा दुईवटा बाघ लडेको र ढाडमा चोट लागेकोमा सो घाउ निको नभएका कारण उसको मृत्यु भएको चिकित्सकलाई उदृत गर्दै डिभिजन वन अधिकृत लम्सालले बताए ।

यसअघि फागुन ६ गते मध्यविन्दु नगरपालिका वडा नं. १० अरुणखोलाको जंगलमा र त्यसको १० दिनपछि मध्यविन्दु १५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटेबाघ मारेर गाडेको अवस्थामा फेला परेको थियो ।

हरेक महिनाजसो एउटा बाघ मर्न थालेपछि लोपुन्मुख पाटेबाघको संरक्षणमा चिन्ता थपिएको छ ।