© २०२३
बुटवल, ७ जेठ ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिले बुटवल उपमहानगरपालिकाको शिवनगर सामुदायिक वनमा अवस्थित नन्दिनी गौशालामा रहेका गौवंशहरूलाई गोग्रास तथा व्यवस्थापनका विभिन्न जिन्सी सामग्री र नगद रु. ५१ हजार प्रदान गरेको छ । गोग्रास अर्पण एवं सहयोग प्रदान कार्यक्रममा विश्व ज्योतिष महासंघका केन्द्रीय सल्लाहकार स्थानेश्वर देवकोटा, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य सुन्दर भण्डारी, गोरक्ष अभियन्ता पं. पुरुषोत्तम पाण्डेलगायतले बोल्दै बुटवल उपमहानगरपालिकाबाट सञ्चालित नन्दिनी गौशाला हामी सबैको साझा गौशाला भएकाले एवं गाई राष्ट्रिय जनावर मात्र नभई हामी सबै सनातनीहरूको आस्थाको केन्द्र रहेकाले पनि सबैजना जुटेर गौसंरक्षणमा लाग्नुपर्ने बताए ।
नगरप्रमुख खेलराज पाण्डेले गुरुहरू एवं धार्मिक क्षेत्रबाट यसरी सहयोग प्राप्त हुँदा गौशाला सन्चालन गरेदेखिको सबैभन्दा खुशीको क्षण भएको र अझै गौसेवा गर्न उत्प्रेरणा मिलेको बताए । अन्य वक्ताहरूले गौसंरक्षण कार्य जनमानसको आस्थासँग जोडिएकाले यसको उन्नयनका लागि ज्योतिष पण्डित समाजले चेतना जगाउने कार्य नैतिक जिम्मेवारीका साथ गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
विश्वज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिका सभापति ज्यो. जनार्दन न्यौपाने, आचार्य कूरेश पाण्डे र महासचिव योगाचार्य कमल पौडेलले पनि गौरंरक्षणमा सबैको महत्वपूर्ण योगदान हुने अपेक्षा व्यक्त गरेका थिए ।