© २०२३
काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट लिएर पुगेका हुन् । सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्याएर दर्ता गर्ने तयारी भइरहेको बताए ।
जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले निवेदकले त्यसलाई रोक्न रिटमा माग गरेका छन् ।
यादवले जसपा नेपालबाट अलग भएका सात जना पार्टीविहीन भएको र उनीहरू जसपा नेपाल र जसपा दुबैको सांसद नभएको जिकिरसहित उनीहरूले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।
यसअघि जसपा नेपाल विभाजनविरुद्धको रिटमा सर्वोच्चले नयाँ पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो ।
जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले ठूलो धनराशी खर्च गरी आफ्नो दल फुटाएको आरोप लगाउंदै आएका छन् ।