© २०२३
दाङ, ६ जेठ ।
तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उद्घाटन गरेका हुन् ।
लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताए । उनले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताए । उनले नेपालको शिक्षामा सीप र क्षमतालाई आत्मसात गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताए । युवालाई देशमा देशमै स्वरोजगार हुने शिक्षा प्रदान गर्नुपर्ने बताए ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख वसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेको छ । कलेजमा तुलसीपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राले निःशुल्क अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग रहने बताए । कार्यक्रममा नगरप्रमुख एवम सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालय स्थापना देखि हालसम्म राम्रो काम बताए । आगामी दिनमा पढाई हुने विषयहरू थपिने बताए । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले तुलसीपुरले नमूना काम गरेकाले अन्य स्थानीय तहलाई सिकाइको हुनुपर्ने बताए । स्थानीय तहले आफ्नै गाउँठाउँमा विद्यालय खोलेर सहुलतमा पढ्ने वातावरण दिएकोमा खुशी लागेको बताए ।