© २०२३
सुनवल, ५ जेठ ।
पश्चिम नवलपरासीको बर्दघाटबाट महेशपुर भन्सार कार्यालयले झण्डै ५ लाख बराबरको अवैध कपडा बरामद गरेको छ । भन्सार कार्यालयको गस्ती टोलीले बर्दघाट २ चिसापानी अस्पताल भन्दा पछाडी सडकबाट ६ बोरा अवैध कपडा बरामद गरेको हो ।
भन्सार कार्यालयको गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा छाडेर भागेको भन्सार अधिकृत वुद्धिकुमार चुँडालले जानकारी दिए । साढे दुई लाख बढी मूल्याङ्कन गरिएको उक्त कपडा भन्सार सहित बजार मूल्य ४ लाख ९० हजार बराबर रहेको चुँडालले बताए ।
गोदामबाट निकालेर पिकअपमा लोड गर्ने तयारी गर्दै गर्दा भन्सार कार्यालयको टोलीले उक्त समान बरामद गरेको थियो । बरामद कपडामा कुर्ता सुरुवाल सहित थान कपडाका विभिन्न प्रकार रहेको भन्सार कार्यालयले जनाएको छ । जिल्लाको खुल्ला सिमा हुँदै भारतीय बजारबाट नेपालतर्फ कपडा, खाद्यान्न लगायतका सामग्री दैनिक तस्करी हुने गरेको छ । पछिल्लो समय स–सानो परिमाणमा अवैध रुपमा भित्र्याउने र भण्डार गरी विक्री गर्ने गरेको पाइएको छ ।