© २०२३
बुटवल, ३ जेठ । बुटवलमा जारी उजिरसिह वडा कप २०८१ अन्तरगत बिहिबार भएको खेलमा वडा नं १४ र वडा नं. १३ विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको पहिलो खेलमा वडा नं. १४ ले वडा नं. ५ लाई ६ विकेट तथा दोस्रो खेलमा वडा नं. १३ ले १२ लाई ३० रनले पराजित गरेको हो ।
नहरपुर माबिस्थित मैदानमा भएको खेलमा टस जितेर वडा नं. ५ ले १०.४ ओभरमा ९८ रन जोडेको थियो । उसका लागि सुभम बिकले १४ बलमा २४ तथा दिपेश यादवले ५ बलमा १७ रनको योगदान दिए । वडा नं. १४ का सरल खत्री र सुस्मित जिसीले समान ३—३ बिकेट लिए । वडा नं. १४ ले कम स्कोरलाई १३.२ ओभरमा ४ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । वडा नं. १४ का महेश खड्काले १५ बलमा २७ तथा सुस्मित जिसीले १५ बलमा २४ रनको योगदान दिए । वडा नं. ५ का कमल सारुले ३ बिकेट लिए । खेलमा वडा नं १४ का सुस्मित जिसी प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर वडा नं. १३ ले निर्धारित १६ ओभरमा ७ बिकेट गुमाएर १५० रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अनमोल थापाले २२ बलमा ४५ तथा बिमल भट्टराईले १७ बलमा ४२ रन बनाए । वडा नं. १२ का राजन भण्डारीले ३ बिकेट लिए ।
वडा नं. १२ का ब्याट्सम्यानहरु १२१ रनमा समेटियो । उसका लागि लक्ष्मण क्षेत्रीले ३२ बलमा ३० र प्रविन पौडेलले १४ बलमा २३ रनको योगदान दिए । वडा नं. १३ का अनमोल थापाले ४ तथा गुन्जन पोखरेल र रबि गहतराजले समान २—२ बिकेट लिए । वडा नं. १३ का अनमोल थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार दोस्रो चरणको पहिलो खेलमा वडा नं. २ र ३ तथा दोस्रो खेलमा १ र ७ बिचमा खेल हुने समितिका अध्यक्ष रोमित बज्राचार्यले बताए ।