© २०२३
काठमाडौं,३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्ंमा आफ्ना सभापति रवि लामिछानेलाई मानवढाल बनाउन खोजेको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसले अब संसदमा बोल्दा गिरीबन्धु टी स्टेट प्रकरणको कुरा पनि उठाउने डरले ओलीले लामिछानेको निहुँमा आफू बच्ने उपाय खोजेको दाबी रास्वपा केन्द्रीय सदस्य कार्कीले गरेका हुन्। ओली प्रधानमन्त्री हुंदा गिरीबन्धु टि स्टेटको करिब साढे २ सय बिघा जग्गा सट्टापट्टा गर्न पाउने गरी अध्यादेश ल्याएर नीतिगत निर्णय गरेको थियो । तर त्यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले निर्णय उल्टिने गरी निर्णयको विपक्षमा फैसला गरेको थियो ।
एमाले अध्यक्ष ओलीले बुधबार पार्टीको संसदीय दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले पहिले बोल्न पाउनुपर्ने नत्र कांग्रेसलाई पनि बोल्न नदिने बताएका थिए।
कार्कीले कांग्रेसले गृहमन्त्री लामिछानेलाई बोल्न नदिनु अलोकतान्त्रिक कदम भएको उल्लेख गर्दै ओलीले कांग्रेसलाई बोल्न दिन्नँ भन्नु पनि त्यस्तै काम भएको टिप्पणी गरेका छन्।
अब बोल्दा कांग्रेसले संसदमा गिरीबन्धु चिया बगानको नीतिगत भ्रष्टाचारबारेमा पनि बोल्छ भन्ने अनुमानले केपी ओलीको नाम सोझै जोडिने र त्यही डरले रवि लामिछानेलाई बोल्न नदिनेलाई हामी पनि बोल्न दिदैनौँ भन्ने एमाले अध्यक्ष ओलीको भनाइ आएको हो भनेका छन् । रवि लामिछानेको नाम बीचमा घुसाएर ओलीले बनाउन चाहेको मानवढाल मात्र भएको नेता कार्कीको तर्क छ ।