© 2026
सुर्खेत, १ जेठ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णालीको रुपान्तरण गर्ने योजनालाई प्राथमिकता दिएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलमा कँडेलले प्रदेशको विकास निर्माणलाई प्राथमिकतामा राखेको जनाएका छन् ।
सुर्खेत विमानस्थल विस्तार गर्न, कोहलपुर–सुर्खेत सडक चार लेनको बनाउन, सुर्खेतको तल्लो तटीय क्षेत्रमा बाढी नियन्त्रण गर्न, कर्णाली र भेरी करिडोर तथा कालीकोटदेखि मुगुको नाङ्चे नाङ्ला सडकलाई स्तरोन्नती गर्न आग्रह गरेको बताए । ‘कति सम्बोधन हुन्छ हेर्न बाँकी छ’ कँडेलले भने, ‘संख्यामा थोरै तर कर्णालीको रुपान्तरणमा योगदान गर्ने योजनालाई प्राथमिकता दिन संघीय सरकारलाई महसुस गराउने प्रयास गरेको छु ।’
उनले मन्त्रालयहरुमा योजना माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने पनि बताएका छन् । बजेट माग्न जिल्ला जिल्लाबाट मन्त्रालय धाउने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री कँडेलले आगामी वर्षको लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको बताए । त्यसका लागि सबैबाट सल्लाह सुझाव लिने काम भइरहेको कँडेलले बताए ।
मुख्यमन्त्री कँडेलले यसअघिका सरकारले सञ्चालनमा ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । सुर्खेत विमास्थल विस्तारका लागि प्रदेशसँगै संघीय सरकारले पनि हिस्सा लिनुपर्ने उनको भनाइ छ । आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कँडेलले आमसञ्चार प्रतिष्ठान लगायतका सञ्चार क्षेत्रका कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाए ।
कँडेलले राजनीतिक नेतृत्व मात्र एक्लै हिँडेर गन्तव्यमा पुग्न नसकिने समेत बताएका छन् । त्यसका लागि कर्मचारी, संरचनादेखि सबै तहको साथ र सहयोगले कर्णालीलाई समृद्धिको बाटोमा अगाडि बढाउन सकिने कँडेलको भनाइ छ ।