© २०२३
नेपालगञ्ज, २८ बैशाख
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ चुनाहा दुगेडीमा झाडापखाला फैलिएको छ । एक्कासि फैलिएको झाडापखालाबाट गाउँका २६ जना बिरामी परेका छन् भने दुईजनाको अवस्था गम्भीर रहेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले एक नम्बर वडाको बिकट क्षेत्र मानिने राप्ती पारी चुनाहा दुगेडीमा झाडापखाला फैलिएको जानकारी आउनसाथ आफूलगायत कुसुम स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महतारा र अन्य चार जना स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर विरामीको उपचार गरिरहेको जानकारी दिए । दुई जनाको अवस्था गम्भीर देखिएकोले स्वास्थ्य चौकीमा ल्याएर स्लाइन पानी चढाउने लगायतको उपचार भइरहेको प्रमुख केसीले बताए ।
स्वास्थ्य शाखा प्रमुख केसीले पानी शुद्धीकरण गर्ने औषधी र पखालाका अन्य औषधीसहित गाउँमा स्वाथ्यकर्मी र जनप्रतिनीधिहरु पुगीसकेको जानकारी दिए । झाडापखाला नियन्त्रणका लागि आवश्यक परेमा थप सहयोगका लागि स्वास्थ्य कार्यालय बाँकेमा पनि सम्पर्क गरेर समन्वय भइरहेको राप्तीसोनारीको स्वास्थ्य शाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनको सचिवालयमा कार्यरत मानव नेपालीले राप्तीसोनारी १ को झाडापखाला बारे प्रदेश मन्त्रालयमा पनि जानकारी आएको जनाउँदै सो नियन्त्रणका लागि समन्वय र सहयोग गर्न स्वास्थ्य कार्यालय बाँकेलाई निर्देशन दिईएको बताए ।
स्थानीयका अनुसार विहिबार एक घरमा बच्चाको न्वारणको प्रसाद खाएपछि रातिदेखि एक्कासी धेरैजनालाई पखाला सुरु भएको हो । चुनाहा दुगेडी गाउँका बासिन्दा अहिले पनि इनारको पानी प्रयोग गरिरहेको कुसुम स्वास्थ्य चौकीका प्रमुख अमरसिंह महताराले बताए । अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीले बताएकाछन् ।