© २०२३
बुटवल, २८ बैशाख । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले नेपालमा कार्यान्वयन शुरु भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को काममा अवरोध नहुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै राजदुत थम्पसनले एमसीसी परियोजनालाई नेपालको संसदले पारित गरेको र सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले यसमा अवरोध हुनुपर्ने कारण नरहेको बताए ।
एमसीसीबारे नेपालमा केही खराब दुष्प्रचारहरु फैलिएको राजदुत थम्पसनले स्वीकार गरे । ‘एमसीसीका विषयमा नेपालका राजनीतिक दलहरु र सरोकारवालासंग हामीले छलफल गरेका छौं,सबै सकारात्मक देखिएको पायौं’–थम्पसनले भने–‘तर नेपालको विकास भएको देख्न नचाहने केही पक्षले खराब सूचना र दुष्प्रचार फैलाएको छ, जुन सत्य होइन ।’
एमसीसी परियोजना अन्तर्गत ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का लागेसँगै आयोजना कार्यान्वयनमा गएको भन्दै राजदुत थम्पसनले यसले नेपालको विद्युत ब्यापार र सडक पुर्वाधार निर्माणमार्फत नेपालको आर्थिक विकासमा योगदान दिने बताए । नयाँ बुटवल सबस्टेसनले नेपालको घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारमा सुधार ल्याउने बताए ।
अमेरिका र नेपालबीच दौत्य सम्बन्धको ७७ वर्ष भएको र यो सम्बन्ध सफल र विश्वासिलो रहेको उल्लेख गर्दै राजदुत थम्पसनले नेपालले विदेशी लगानी आकर्षित गर्न अनुकुल नीतिहरु बनाउनुपर्ने औंल्याए ।
अमेरिकाले बुटवलमा २ सय मिलियन डलरको पोल्ट्री परियोजनामा लगानी गर्न लागेको समेत उनले जानकारी गराए । यस्तै लुम्बिनी र यससंग सम्बन्धित पर्यटकीय स्थलबारे सूचना दिन अमेरिकाले एप निर्माण गर्न लागेको समेत उनले जानकारी गराए ।
राजदुत थम्पसनले लुम्बिनीमा विभिन्न देशले निर्माण गरेका बौद्ध बिहारहरुले लुम्बिनी शान्ति र सहअस्तित्वको नमूना प्रस्तुत गरेको बताए । नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएकोबारे पत्रकारको प्रश्नमा उनले यसका लागि उच्च सरकारी कर्मचारीहरुको नियमित भ्रमण हुनुपर्ने सुझाए ।