© २०२३
काठमाडौं,२८ बैशाख । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजना सियारी गाउँपालिका–७ का हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।
अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले पक्राउ परेकामध्ये मिलन २०८० असोज १० गते दोलखामा बरामद भएको साढे ११ किलो सुन प्रकरणमा मुछिएका अभियुक्त रहेको बताए । उनले भने, ‘जतिबेला दोलखामा सुन बरामद भएको थियो, उतिबेलै मिलन फरार सूचीमा थिए, प्रहरीले त्यतिबेला संगठित अपराध तथा सजाय ऐनमा समेत मुद्दा दर्ता गरेको थियो ।’
अनुसन्धान कार्यालयका अनुसार मिलनविरुद्ध सम्पत्ति शुद्धिकरणमा समेत मुद्दा चलेर अनुसन्धान भइरहेको छ । प्रहरीले मिलनबाट डायरी र मोबाइल बरामद गरेको छ । मिलनले डायरीमा कोड भाषामा रकम लेनदेनको विषय उल्लेख गरेकाले थप अनुसन्धान हुने जानकारी एसएसपी भट्टराइले दिए ।
पक्राउ परेका मिलन र समिरले विगत दुई वर्षदेखि यो धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।