© २०२३
काठमाडौं,२८ बैशाख । नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानवीन समिति गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । लामिछाने सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने संसदीय दलको बैठकमा निश्कर्ष निक्लेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष अनुसन्धान होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समितिको माग आवश्यक छ भन्ने थप पुष्टि भएको लेखकले बताए ।
सरकार सहकारी ठगी प्रकरणमा लामिछानेलाई जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेस वैठकले निष्कर्ष निकालेको छ।
‘छानबिन समिति हाम्रो आधारभूत माग भइसक्यो, बटम लाइन भइसकेपछि पछि हट्दैनौँ, संसदीय छानबिन समिति गठन भएन भने त्यस कारणले सदनको बैठक प्रभावित भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ। अब त्यहाँ बोल्न कोको आउनुहुन्छ। त्यसमा भर पर्छ’–लेखकले भने । रविलाई जोगाउन संवैधानिक निकायलाई दुरुपयोग गरेको ठहर समेत वैठकले गरेको उनले बताए । शुक्रवार बानेश्वरस्थित संसद् भवन परिसरको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले विभिन्न सहकारीको अरबौं रुपैयाँ ठगी गर्नेलाई कारबाही गर्नुपर्नेमा सरकारले उल्टै जोगाउन लागेको पार्टीले ठहर गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।
सहकारीको अरबौं रकम अपचलनका विषयमा विपक्षले कुरा उठाउँदा सरकार गैरजिम्मेवार भएको, असमयमा अकारण संसद् अन्त्य गरेर सरकार भागेको कांग्रेसको ठहर छ । सरकारको गैरजिम्मेवारपना र असम्वेदनशीलताको विरोध गर्दै संवेदनशील हुन माग गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि कुनै पनि अनुसन्धान अगाडि नबढेको पत्र दिएको विषयलाई कांग्रेसले विरोध गरेको छ।