© २०२३
बुटवल, ८ बैशाख । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा र बाबुराम खनाल बीच चुनाव हुने भएको छ ।
१० औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि आज मतदान हुने भएको हो ।
नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेदारी दिएका विश्राम चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको हो ।
शर्मा र खनालले प्यानलै बनाएर उम्मेदारी दिएका छन् । यद्यपि उम्मेदवारहरुले प्यानल बनाएर नभई स्वेच्छिक हिसाबले उम्मेदवारी दिएको दावी गरेका छन् ।
उपाध्यक्ष पदमा शंकर पाण्डे, भेषराज पाण्डे र टोपलाल पोखरेलको उम्मेदारी परेको छ । सचिवमा सिबी गहतराज र विश्व कार्कीको उम्मेदारी परेको छ । एकजना उपसचिव खुला पदमा कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव र विनोद चौधरी गरी ७ जनाको उम्मेदारी परेको छ ।
महिला उपसचिवमा शुशिला दर्लामी र माधुरी अग्रहरीको उम्मेदारी परेको छ । १२० सदस्यीय जिल्ला कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य डा. हरि भण्डारीले जनाएका छन् । बुधबार शुरु भएको अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि सहभागी छन् ।