© २०२३
बुटवल, २१ बैशाख । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी उत्तर प्रदेशको रायबरेली लोकसभा सिटबाट समेत उम्मेदवार बन्ने भएका छन् । उत्तर प्रदेशका रायबरेली र अमेठी निकै चासोका साथ हेरिएका क्षेत्र हुन् । शुक्रबार बसेको कांग्रेसको केन्द्रीय चुनाव समिति बैठकले रायबरेलीमा राहुल गान्धी र अमेठीमा किशोरीलाल शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव केसी वेणुगोपालले जनाएका छन् । राहुलले यसअघि केरलको वायनाड लोकसभा क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।
राहुल गान्धी पहिलो पटक रायबरेलीबाट उम्मेदवार बन्न लागेका हुन् । यसअघि उनी उत्तर प्रदेशको अमेठीबाट ३ पटक सांसद बनेका थिए । पछिल्लो पटक सन् २०१९ मा भने उनले अमेठीमा हार बेहोरेका थिए । २००४, २००९ र २०१४ मा अमेठीबाट जित हात पारेका राहुललाई भारतीय जनता पार्टीकी नेता स्मृति इरानीले ५५ हजार मतान्तरले हराएकी थिइन् ।
अमेठी यस्तो क्षेत्र हो जहाँ वर्षौंदेखि गान्धी परिवारका सदस्य चुनाव लड्दै आएका छन् । सन् १९९९ पछि पहिलो पटक अमेठीमा गान्धी परिवारबाहिरबाट कांग्रेसले उम्मेदवार बनाएको छ । किशोरीलाल करिब ४ दशकदेखि कांग्रेसमा आबद्ध छन् । एनडीटीभीका अनुसार शर्मा गान्धी परिवारको अत्यन्तै निकट व्यक्ति हुन् । उनी पूर्वप्रधानमन्त्री राजीव गान्धीका करिबीसमेत मानिन्थे । सन् १९९९ मा सोनिया गान्धीलाई अमेठीमा जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
भारतमा १८ औं लोकसभा चुनावअन्तर्गत २ चरणका मतदान भइसकेका छन् । तेस्रो चरणअन्तर्गत मे ७ मा १२ राज्यका ९४ क्षेत्रमा मतदान हुँदैछ । २५ मे मा छैटौं र जुन १ मा अन्तिम चरणको मतदान सम्पन्न भएपछि जुन ४ मा मतगणना हुनेछ ।