© २०२३
बुटवल, २० बैशाख । युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बिहिबारदेखी रुपन्देहीमा शुरु भएको जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा आयोजक वेष्ट्रन क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा भएको उद्घाटन खेलमा आयोजक वेष्ट्रन क्रिकेट क्लबले न्यु होराईजन जिबिएसलाई १ सय २५ रनले पराजित गरेको हो ।
नहरपुर माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको वेष्ट्रनले निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा शानदार १९१ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि ओपनर निश्चल पौडेलले ३८ बलमा ४०, विशोन न्यौपानेले ३२ बलमा ३४ तथा सुमित भण्डारीले ३९ रनको योगदान दिएका थिए । जिबिएसका हिमान्सु पाण्डेले ३, सब्य अर्यालले २ बिकेट लिए । विशाल लक्ष्य पछ्याएको जिबिएसका १६ ओभरमा ६६ रनमा समेटियो । उसका लागि जुनेश रोक्काले २० तथा हिमान्सु पाण्डेले १८ रनको योगदान दिए । खेलमा वेष्ट्रनका निश्चल पौडेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि विहिबार नै भएको दोस्रो खेलमा शान्ति नमुना माबि विजयी भएको छ । शान्ति नमुनाले वेष्ट्रन क्रिकेट एकेडेमीलाई ६१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको शान्ति नमुनाले निर्धारित २० ओभरमा ४ बिकेटको नोक्सानीमा १४७ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि माधव यादवले २६ रनको योगदान दिए । वेष्ट्रनका अर्पसन बिक्रम जिसि र आयुष खत्रीले समान २—२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वेष्ट्रन अन्तिम ओभरमा केवल ८६ रनमा समेटियो । यसका लागि अर्पसन, विश्वास पौडेल र सम्राट पोखरेलले समान १८÷१८ रनको योगदान दिए । कम स्कोरमा रोक्न शान्ति बनमुनाका प्रमोद न्यौपानले शानदार ४ तथा सफल पाठक र शिशिर भ्रुतेलले समान २—२ बिकेट लिए । खेलमा प्रमोद प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच क्लबका अध्यक्ष भुवन पाण्डेले एम्पायरलाई बल हस्तान्तरण गरि प्रतियोगिता शुभारम्भ गरिएको थियो । प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाईएको छ प्रतियोगितालाई टाईटन जेट नेपालले मुख्य स्पोन्सर गरेको छ । यसैगरि ओसिस बिक्युब, हाईलाईट, बादशाह रिकण्डीसन, त्रिशक्ति फर्निचर उद्योग र हैदराबादी दम बिरायनीले प्रायोजन गरेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।