© २०२३
बुटवल,१९ बैशाख । इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान पक्षधरहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकल पहिचानवादी भएको र माओवादीले पहिचानको एजेण्डा छाडेको बताएका छन् । इलाममा पत्रकार सम्मेलन गर्दै पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले आफूले पाएको मत पहिचान आन्दोलनका लागि महत्वपूर्ण भएको बताएका छन् ।
थेगिमले आफूले पाएको मतबाट राज्य सञ्चालन गरिरहेकाहरु झस्किएको धारणा राखे ।
पहिचानको आन्दोलन जारी छ भन्दै थेगिममले आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिए । १५ वैशाखमा भएको इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवारी दिएका थेगिमले ११ हजार ४५७ मत पाएर तेस्रो स्थानमा रहे ।
पत्रकार सम्मेलनमा पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समिति का महासचिव रामभक्त कुरुम्बाङले एमाले अध्यक्ष केपी शर्मा ओली एकल पहिचानवादी भएको बताए । उनले ओली एकल पहिचानवादी भएको भन्दै एकल पहिचानको नाम कोशी खारेज गरि वहुपहिचानको माग गरिरहेको बताए ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष यासेली योङहाङले उपनिर्वाचनमा माओवादी केन्द्रले समेत एमालेलाई साथ दिएकाले उसले पनि पहिचानको एजेण्डा त्यागेको टिप्पणी गरे ।
पहिचान पक्षधर नेताहरुले उपनिर्वाचनमा मतदाताले पहिचानको मुद्दा र एजेण्डालाई सदर गरेको विश्लेषण गरे ।