Butwal Today

एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने

८ बैशाख २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार) ललितपुरको गोदावरीमा सुरु हुँदै छ।

गोदावरीस्थित सनराइज सभाहलमा हुने २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ।

मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्पयात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो।

ती अभियानले २०७४ मा दुई तिहाईनजिकको बहुमत प्राप्त गर्दा पनि त्यसलाई राजनीतिक पुँजीमा अनुवाद गर्न र पार्टी एकता टिकाउन नसकेको, नेतृत्वको कार्यशैलीका कारण एमाले विभाजन हुनुपरेको र पार्टीपंक्तिमा व्याप्त भ्रष्टाचार, पक्षपात, आचरणहीनता, अवसरवाद लगायत कारण पनि एमालेप्रति आकर्षण घट्दै गएको निष्कर्ष दिएका छन्। त्यसैले पार्टीको नीति, कार्यक्रम र नेतृत्वको कार्यशैली समीक्षाका लागि यो बैठक महत्त्वपूर्ण बन्न सक्ने ठानिएको छ।

ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकका लागि सबै तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार, परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन्।

एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ।

हीरक महोत्सव मनाइने

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ।

यही वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने कार्यक्रम एमालेले तय गरेको छ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।

उक्त हीरक महोत्सवमा गणतन्त्र गौरव सम्मानबाट एकजना विशिष्ट व्यक्तिलाई सम्मान गर्ने एमालेले जानकारी दिएको छ।

‘पार्टी नीतिलाई दिशानिर्देश गर्ने’
पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

एमालेलाई कसरी अगाडि बढाउने भनेर निर्क्योल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्त्वपूर्ण हुने उनको भनाइ थियो। उनले मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताए।

‘मुलुकलाई अगाडि बढाउने निष्कर्ष परिषद् बैठकबाट गर्नेछौँ,’ उनले भने, ‘महाधिवेशनयताको समग्र कामको समीक्षा गरिनेछ।’

बैठकमा मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलको भनाइ थियो। उनका अनुसार, परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजनको पनि समीक्षा गरिनेछ।

‘एमाले बलियो छ तर पर्याप्त छैनौँ । हामी अरूभन्दा ठूला त छौँ तर राष्ट्रिय आवश्यकता पूरा गर्ने अवस्थामा पुगिसकेका छैनौँ,’ उनले भने, ‘पहिलो पार्टी हुनु मात्र पर्याप्त हुँदो रहेनछ। राष्ट्रिय आवश्यकता पूरा गर्ने हिसाबले बलियो र निर्णायक बन्नु जरुरी रहेछ। बलियो र निर्णायक एमालेले नै अस्थिरता अन्त्य गर्न सक्दछ।’

अहिलेको सरकारले राम्रो काम गरे निरन्तरता दिन तयार रहेको पोखरेलको भनाइ थियो।