© २०२३
बुटवल, १९ चैत । रुपन्देहीमा जारी छैटो खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता २०८० को उपाधिका लागि पल्सर सिईसि काठमाण्डौ र धनगढी क्रिकेट एकेडेमी बिच फाईनल खेल हुने भएको छ । सोमबार भएको दोस्रो सेमीफाईनल खेलमा धनगढीले स्टार क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । यसअघि नै सिईसि काठमाण्डौले मदन भण्डारी स्र्पोटस एकेडेमीलाई २ बिकेटले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको थियो । फाईनल खेल मंगलबार हुने छ ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा टस जितेर स्टारले ब्याटिङको निम्तो दिएपछि धनगढीले निर्धारित २५.२ ओभरमा केवल १०० रनको लक्ष्य खडा गरेको थियो । उसका लागि आशिष लुहारले ३० बलमा ३४ तथा निशाम रेग्मीले २५ बलमा १२ रन बनाएका थिए । स्टारका शुभम पाण्डेले र प्रिन्स पालले समान ३—३ तथा शुभम खनालले २ बिकेट लिए ।
सामान्य लक्ष्य पछ्याएको स्टार २६ ओभरमा केवल ६५ रनमा समेटियो । स्टारका संगम पाण्डे र प्रदिप साहनीले समान ८—८ रनबाहेक अन्य क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न धनगढीका सचिन साउ र सचिन मल्लले समान ३—३ बिकेट लिए । खेलमा धनगढीका सचिन साउद म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब गरि आठ टिमले प्रतिस्पर्धा गर्ने छन । चैत २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।