© २०२३
दाङ,१४ चैत ।
बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी दाङमा पूरा भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले दाङमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए ।
जिल्लाका १० वटै पालिकाका २ सय ४२ वटा विद्यालयबाट गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए एसइइ परीक्षामा सहभागी हुने उनले जानकारी दिए। इकाइ प्रमुख चौधरीका अनुसार गत वर्ष दाङमा १३ हजार ४ सय ५२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए ।
यो बर्ष १२ हजार ८ सय ९८ जनाले परीक्षा दिदै छन् । सामुदायिक, खुला र संस्थागत गरी २ सय ४२ वटा विद्यालयबाट नियमिततर्फ १२ हजार २ सय २८ जना, प्राविधिक धारतर्फ ३ सय २३ जना र ग्रेट वृद्धितर्फ ३ सय ४७ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुने कार्यालयले जनाएको छ ।
त्यस्तै जिल्लामा यो वर्ष ४ जना छात्र र २ जना छात्रा गरी ६ जना दृष्टिविहिन विद्यार्थी परीक्षा सहभागी हुँदैछन् । उनीहरूले सम्बन्धित विद्यालयको सिफारिसमा कक्षा ८ पास गरी ९ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोगी राख्न पाउने छन् । परीक्षाका लागि ४७ वटा परीक्षा केन्द्र तोकिएको र सबभन्दा बढी घोराही र तुलसीपुरमा परीक्षा केन्द्र रहेको इकाइ प्रमुख चौधरीले बताए । घोराही र तुलसीपुरमा १४/१४ वटा, लमहीमा ५ , राप्ती र गढवामा ३/३, शान्तिनगर, बबई र दंगीशरणमा २/२, बंगलाचुली र राजपुरमा १/१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा सञ्चालनका लागि सुरक्षाकर्मी बाहेक १ हजार एक सय ६५ जना जनशक्ति परिचालन गरिने भएको छ । परीक्षामा ४७ जना केन्द्राध्यक्ष, ८४ जना सहायक केन्द्राध्यक्ष, ६ सय ५१ जना निरीक्षक, एक सय २८ जना सहायक कर्मचारी, २ सय ५५ जना सहयोगी कर्मचारी परिचालन गरिने प्रमुख चौधरीले जानकारी दिए । परीक्षा केन्द्रमा विद्यार्थीको सङ्ख्याको आधारमा १० देखि १५ जना सुरक्षाकर्मी परिचालन हुने समेत उनको भनाइ छ । परीक्षार्थीका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने अन्य परीक्षा सामग्रीहरु सम्बन्धित निकायमा पुगिसकेको कार्यालयले जनाएको हो । चैत १५ गतेदेखि सुरु हुने एसइई परीक्षा २७ गतेसम्म चल्नेछ ।।