© २०२३
बुटवल,१२ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको हो । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।
मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन । यद्यपि निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने बाटो भने खुलेको छ । अरबौं रकम अण लिएर लगानी गरेर सरकारकै स्वीकृतिमा मेडिकल कलेजको सम्बन्धन पाएर पनि एमबीबीएस पढाउन नपाएपछि प्रसाई सरकार र दलका नेताहरुबिरुद्ध रुष्ट बनेका थिए । पछिल्लो समय यो व्यवस्था नै परिवर्तन गर्ने भन्दै आन्दोलनमा उत्रिएका थिए । उनले लघु वित्त र सहकारी पीडितको पक्षमा तथा दलका नेता र ठूला ब्यापारिक घरानाका मारवाडी विरुद्ध चर्को आवाज उठाउंदै आएका थिए । प्रसाईको आन्दोलनले बैकिङ क्षेत्रको ऋण असुलीमा असर परेको थियो ।