© २०२३
काठमाडौं,१० चैत । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरेका छन्।
सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन भन्ने प्रश्न उठेको कोइरालाले बताए।
तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र निर्दोष साबित भयो भने फेरि मन्त्री भए हुने कोइरालाले भने।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदनदेखि सडकसम्म विरोध प्रदर्शन गरिरहेको छ। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमै जवाफ दिँदै गृहमन्त्री लामिछाने निर्दोष भएको दाबी गरिसकेका छन्।
काठमाडौँको मध्य बानेश्वरमा स्थानीय कार्यकर्तासँगको भेटघाट कार्यक्रममा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौँका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको बताए।
हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको अपेक्षा गरे।