© २०२३
काठमाडौं,८ चैत । नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा बिहीबार बिहान बयान दिएपछि पत्रकारहरुमाझ उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।
बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै चौधरीले उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखिएको बताए ।
यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्रलाई, उद्यमीलाई र लगानीकर्तालाई अलग राखिनुपर्ने चौधरीको भनाइ छ ।
आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको बताउँदै उनले आफू जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि नेपालभरीका र विश्वभरीका युवाहरुले, नेपालका रोजगारदाताहरुले, करदाताहरुले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन भने ।
आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए ।