© २०२३
काठमाडौं,७ चैत । नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको जानकारी सभामुखलाई दिएको छ ।
सीआईबीले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ ।
दस रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराएको हो ।
यससँगै सांसद चौधरीलाई बयानका लागि बोलाउने वा पक्राउ गर्ने बाटो खुलेको छ । सीआईबी प्रमुख तथा एआईजी श्यामलाल ज्ञवाली पनि अनुसन्धान भइरहेको विषयमा सभामुखलाई जानकारी गराउनुले सांसद चौधरीलाई प्रहरीले जतिबेला पनि बयानका लागि बोलाउनसक्ने बुझ्नुपर्ने बताउँछन् ।