© २०२३
बुटवल,७ चैत । नेपाली कांग्रेसका पुर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवस आज नेपाली कांग्रेस र उसका भातृ संगठनहरुले विविध कार्यक्रम आयोजना गरी मनाउदै छन्।
विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकुलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए।
विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृतवमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए।
कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनस्थापना गर्न सहमत भएका थिए।
आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बने। कोइरालाकै नेतृत्वमा माओवादी सेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो। उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बिपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो।
चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्बाह गरे।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षका इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो। कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी उनको स्मृति दिवस मनाउँदै छन्।