© २०२३
बुटवल, ६ चैत । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशनबाट विशाल थापा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार बुटवलमा सम्पन्न अधिवेशनबाट थापा अध्यक्षमा,वरिष्ठ उपाध्यक्षमा विजय शाही, उपाध्यक्षहरुमा रशन बहादुर खत्री, सुनिता थापा क्षेत्री र गोपाल क्षेत्री सर्वसम्मतरुपमा निर्वाचित भएका छन् ।
त्यस्तैगरी महासचिवमा थानेश्वर सुवेदी, कोषाध्यक्षमा अहमद हुसेन, सचिवमा ऋषिराम राईभाट, सहकोषाध्यक्षमा देवतस् प्रसाद सापकोटा निर्वाचित भएका छन् । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा नरसिंह गिरी, दिपेन्द्र चौधरी, झविन्द्र बहादुर केसी, विष्णु खत्री र विष्णु थापा बिमा थापा, गन कुमारी राना, बिमला थापा,लक्ष्मण प्रसाद श्रेष्ठ,वेद प्रसाद काफ्ले,विष्णु बहादुर जिसी, थानेश्वर पाण्डे र सफि मोहम्मद भाटलगायत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता यमलाल खनालले बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले व्यवसायी र उपमहानगरबीच सहकार्य गरेर उपभोक्तालाई स्वच्छ मासु दिनुपर्ने बताए । अध्यक्ष चुरामणि घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका पशुपन्छी शाखा प्रमुख डा झविन्द्र बञ्जाडे, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेज कुमार पाठक,रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खत्री,उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी लगायतले मन्तव्य राखेका थिए ।
हजारौं किसान र व्यवसायीलाई धोका दिएर निजी कम्पनिलाई दिएको बधशालामा जान्नौंं : अध्यक्ष थापा
संघका नवनिर्वाचित अध्यक्ष विशाल थापाले खसी बोका पालनमा लागेका हजारौं किसान र बुटवलमा वर्षौंदेखि व्यवसाय गरेका मासु व्यवसायीलाई धोका दिएर उपमहानगरपालिकाले निजी कम्पनीलाई टेण्डरका नाममा बधशाला सुम्पिएकाले आफूहरु यथास्थितिमा उक्त वधशालामा खसी बोका र कुखुरा बध गर्न नजाने स्पष्ट पारे । ‘हामीसंग सय पटक भन्दा बढी छलफल र संवाद गरी वधशाला चलाउन दिने करिब टुंगो लागेको बेला एकाएक टेण्डरका नाममा निजी कम्पनीलाई दिएपछि किसान र वर्षौंदेखि काम गरेका व्यवसायीमाथि धोका र अन्याय भएको महसुस गरेका छौं’–थापाले भने–‘लक्षित वर्ग हजारौं किसान र सयौं व्यवसायीलाई पाखा लगाएर मासु सम्बन्धी अनुभव नै नभएको प्राइभेट कम्पनीलाई दिएपछि बधशाला स्थापनाको मर्म र उद्देश्यमाथि प्रहार भएपछि हामी जबरजस्ती निर्देशन दिएको भरमा त्यहां जान्नौं ।’ जनस्वास्थ्यको बहाना बनाएर उपमहानगरपालिकाको नेतृत्वले निश्चित व्यापारी पोस्ने उद्देश्य देखिएकाले बुटवलका व्यवसायीले अन्याय महसुस गरी बधशालालाई सहयोग गर्न तयार नभएको अध्यक्ष थापाले बताए ।
संघमा आवद्ध व्यवसायीले आफ्नै पहलमा छुट्टै वधशाला निर्माणको पहल पनि थालिसकेको र समग्र मासु व्यवसायलाई गुणस्तरीय बनाउन सहकारी संस्थामार्फत पनि व्यवसाय स्तरोन्नति गर्ने तयारीमा रहेको बताए । बधशाला सञ्चालनमा साझेदारी हुन पाइने आशामा विभिन्न सहकारीमा आवद्ध हजारौं महिलाहरु इन्भेस्टमेन्ट कम्पनी स्थापना गरी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा खसी बोका पालनमा डूलो रकम लगानी गरेका थिए । तर उपमहानगरले टेण्डरमार्फत अर्कैंलाई बधशाला चलाउन दिएपछि ती महिला किसानहरु र व्यवसायीहरु उपमहानगरसंग रुष्ट भएका छन् ।