© २०२३
काठमाडौं,६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सहकारीसम्बन्धी विषय अनुसन्धानका क्रममा रवि कतै दोषी नदेखिएको बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि उभिएका दाहालले प्रमुख विपक्षी नेपाली कांग्रेसले केही दिनयता उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले रवि लामिछाने उक्त सहकारीको सञ्चालक समिति, लेखा समिति, वा अन्य कुनै समिति र जिम्मेवारीमा नरहेको तथा अदालतमा विचाराधीन मुद्दामा पनि कतै नजोडिएकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।
प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।
प्रधानमन्त्रीले सहकारी ऐन २०६४ को दफा २ त अनुसार सहकारी संस्थाले सदस्यसँग मात्र कारोबार गर्न पाउँने भन्दै सदस्य नभएको व्यक्तिसँग संस्थाको कारोबार नहुने भएकाले सदस्य नै नभएको रवि लामिछानेको भूमिका सहकारी ठगीमा हुन नसक्ने जिकिर गरे ।
रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारबाही प्रभावित हुने गरी उठाएको भन्दै यसबारे प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको बेला रवि सरकारमा नरहेको बताए ।
प्रधानमन्त्रीले मुद्दा बुझाइसक्दा सम्म रविको नाममा उजुरी, निवेदन केही नरहेको भन्दै उजुरी पर्ना साथ राजीनामा दिने हो भने के हुन्छ भन्ने प्रश्न समेत गरे ।