© २०२३
बुटवल,४ चैत । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँगको एकता प्रक्रिया खारेज गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यकार्यकारिणी बैठकले अर्का अध्यक्ष महिन्द्र यादवले एकलौटी निर्णयमा केही नेतालाई लिएर माओवादीसँग एकीकरण गर्ने भन्दै पार्टी पंक्तिलाई भ्रममा पारेको ठहर समेत गरेको छ ।
यादवले एकता गरेको भनेर पार्टीको विधि तोडेर सत्ता समीकरणको खेलमा यादवसहितका नेता लागेकाले माओवादीसँगको एकता खारेज गरिएको नेताहरुले बताएका छन् । यससम्बन्धी सोमबार बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय लिने नेताहरुले बताएका छन् । दुई दलबीच एकताका लागि लामो समयदेखि वार्ता भइरहेको थियो । महिन्द्र राय यादव लगायतका केही नेताले माओवादीसँग एकता गर्ने भन्दै छुट्टै सहमति गरेपछि नेसपाले प्रक्रिया नै खारेज गर्ने निर्णय गरेको हो ।
३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमध्ये २९ जना रहेकोमा बैठकमा २० जना उपस्थित भएको बताइएको छ । केही काठमाडौं बाहिर भएकाले बैठकमा सामेल हुन नपाएको नेसपाले जनाएको छ ।