Butwal Today

जनमत पार्टीद्वारा लुम्बिनी र कोशी प्रदेश नाम अस्वीकार

४ चैत्र २०८०, आइतबार
अ+
अ-

बुटवल,४ चैत । जनमत पार्टीले लुम्बिनी र कोशी नाम अस्वीकार गरेको छ ।   वीरगञ्जमा चैत ३ र ४ गते बसेको जनमतको केन्द्रीय समिति बैठकले लुम्बिनी र कोशी प्रदेशको नाम अस्वीकार गर्दै पहिचानसहितको नाम राख्नुपर्ने निर्णय गरेको हो ।

प्रदेश १ मा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेशको सीमाङ्कन तथा नामाङ्कन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णयसमेत गरिएको जनमतका सचिव बीपी साहले जानकारी दिए ।

उनका अनुसार मधेश थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमाङ्कन तथा नामाङ्कन पनि परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय पनि गरिएको बताए ।

जनमतका सचिव साहले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधान गर्न तथा आगामी वर्ष किसानहरूलाई समयमै मलखाद र बीउबिजन सहज उपलब्ध गराउन सरकारलाई दबाब दिने निर्णय पनि गरिएको बताए ।

जनमतको केन्द्रीय समितिले मधेशमा सुख्खा याममा हुने गरेको खानेपानीको अभावसँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट उपलब्ध गराउन संघीय सरकारलाई दबाब दिने निर्णय गरेको छ ।  २०८१ जेठ १५ गते काठमाडौंमा आमसभा गर्ने निर्णय पनि भएको उनको भनाइ छ ।