© २०२३
बुटवल,४ चैत । लुम्बिनीमा चैत तेस्रो साता विराट चक्र विज्ञान सप्ताह हुने भएको छ । ‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ नारासहित लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान कक्ष (सभा हल) मा चैत १७ देखि २३ गतेसम्म चल्ने चक्र विज्ञान सप्ताहमा एकसाथ ५ हजार जनालाई योगाभ्यास गराइने छ । उक्त सभा हल ५ हजार जना क्षमताको हो ।
जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीको आयोजनामा हुने कार्यक्रममा भारतसहित १५ देशबाट ५ सय जना सहित ५ हजार एकजना सहभागी गराइने लुम्बिनी प्रदेश अध्यक्ष केशव खनालले जानकारी दिए । हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत लुम्बिनीमा हुने यो कार्यक्रममा सहभागिताका लागि देशभरका स्थानीय तहलाई परिपत्र गरेकाले योगाभ्यासमा देशभरबाट सहभागिता हुने उनले बताए ।
यस प्रकारको योगाभ्यास कार्यक्रम यसअघि अस्ट्रेलियामा ३ दिनसम्म आयोजना हुंदा एकहजार ४ सय ७१ जना उपस्थित भएको उल्लेख गर्दै खनालले लुम्बिनीमा हुने कार्यक्रमले गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने दावी गरे ।
कार्यक्रमका व्यवस्थापक एवं जीवन विज्ञान परिषद अमेरिका संयोजक लोक तिवारीले यो कार्यक्रमले लुम्बिनीलाई ध्यान तथा योग केन्द्र र आध्यात्मिक पर्यटनको उपयुक्त थलो हो भन्ने सन्देश विश्वभर प्रचार गराउने बताए । कार्यक्रममा सहभागी हुन सात दिनको खाना र खाजासहित प्रतिव्यक्ति १० हजार शुल्क तय गरिएको परिषदका शिक्षा विकास संयोजक हरी पोखरेलले बताए ।
चक्र विज्ञान योगाभ्यासमा सहभागी हुने ५ हजार मध्ये ५९ प्रतिशत महिला र ४१ प्रतिशत पुरुष हुने परिषदकी नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिइन् । आर्थिक अभावमा कार्यक्रममा सहभागी हुन नसक्नेलाई सहुलियत वा निःशुल्क प्रवेशको व्यवस्था मिलाइने आयोजकले बताए । सहभागीले यातायात र आवासको व्यवस्थापन खर्च आफै ब्यहोर्नु पर्ने तर यसमा आयोजकले सहजिकरण भने गर्ने अध्यक्ष खनालले बताए । यो कार्यक्रमले लुम्बिनी र समग्र रुपन्देहीका होटेल व्यवसायलाई थोरै भएपनि राहत पुग्ने नेप्लिज होटेलियर्स एशोसिएसन लुम्बिनीका अध्यक्ष प्रविणबहादुर पाठक बताउंछन् ।