© २०२३
काठमाडौं,३ चैत । नेपाल समाजवादी पार्टी नेसपाको एक पक्ष माओवादी केन्द्रमा मिसिएको छ । पार्टीका दुई मध्ये एक अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो ।
प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।
बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।
साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।
नेसपाका पहिलो बरियताका अध्यक्ष डा. बाबुराम भट्टराईले भने यो घटनालाई प्रधानमन्त्री प्रचण्डको राजनीतिक ठगी भनेका छन् ।
प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा उनले टिप्पणी गरे । भट्टराईले भोलि कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाएका थिए । पार्टीमै छलफल नै नगरीकन प्रधानमन्त्रीले यस्तो गर्नुभयो भने देशमा त नैतिकताको ठूलो खडेरी भयो, बेइमानी भयो भन्दै भट्टराईले आक्रोश पोखेका छन् । गएको चुनावमा बाबुरामले आफूले जित्दै आएको गोर्खा २ छोडिदिएका कारण प्रचण्डले चुनाव जितेर प्रधानमन्त्री बन्न पाएका हुन् । भट्टराईले नछाडेको भए प्रचण्डले ेचितवनबाटै चुनाव लड्नुपर्ने थियो ।