© २०२३
सल्यान, ३० फागुन ।
अमेरिका पठाईदिन्छु भनी ६० लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति ८० लाखमा अमेरिका पठाईदिन्छु भनेर विभिन्न व्यक्तिलाई ठगी गर्ने उदयपुरको त्रियुगा ७ घर भई हाल जिल्ला काठमाण्डौं टोखा १० गंगबु बस्ने बर्ष ३६ को लोक बहादुर राउतलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले पक्राउ गरेको हो ।
ठगीमा पर्नेहरुमा सल्यान जिल्ला शारदा नगरपालिका १ का टिकाराम बस्नेत सहित २ जना, रोल्पा जिल्ला गंगादेव गाउँपालिका ३ बस्ने खिमा डाँगीको छोरी दिपा डाँगी लगाएत रहेका छन् । उनीहरुलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति ८० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि मासिक सात लाख पचास हजार रुपैयाँ तलव हुन्छ भनेर प्रलोभनमा पारेर लोक बहादुरले ठगी गरेको बताइएको छ । पीडितहरुबाट पटक पटक गरी जम्मा ६० लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले २८, फागुनमा पक्राउ गरेको हो ।
पक्राउ परेका लोक बहादुरलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।