© २०२३
बुटवल,२९ फागुन । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन चलाउन रोक लगाइएको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ वटा ‘सपोर्ट डोरीमा आंशिक क्षति पुगेको छ ।
कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट पुर्वतर्फ आउने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले बताए।
कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो ।
आइतबार अपराह्न वीरगञ्जबाट लाइटरको एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेपछि एक्कासी आगलागी भएको ट्रकचालक जगनाथ जोशीले बताए।
ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको हो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद रु ५७ हजार पनि जलेको बताए । नगद र सामान गरी र एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको र क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो ।