© २०२३
बुटवल,२८ फागुन । राप्रपाको पार्टी कार्यालयमा वैठक बसिररहेका बेला नेतामाथि सांघातिक आक्रमणको घटनाले राप्रपामा रमिता भएको छ । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका राप्रपा कार्यसम्पादन समिति सदस्य पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले पार्टी महामन्त्री विक्रम पाण्डेसहित ५ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । राप्रपा कार्यसम्पादन समितिको बिहानको वैठकपछि खाना खान निस्कने क्रममा ठाकुरमोहन आक्रमणमा परेका थिए । वैठकबाट निस्किँदै गर्दा राप्रपा सहायक महामन्त्री तथा विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले हात मिलाउने बहानामा श्रेष्ठलाई घेरा हालेर छातीमा मुक्का प्रहार गरिएको श्रेष्ठ बताउँछन् ।
कार्यसम्पादन समितिको वैठकमा पाण्डे र श्रेष्ठबीच चर्काचर्की भएको थियो । आफ्नो पालोमा बोल्ने क्रममा श्रेष्ठले अनुशासनको कारवाहीको सन्दर्भमा आफ्नो भनाइ राखेका थिए । आफू पार्टीमा नयाँ भन्दै उनले कारवाही गर्ने विषयमा राम्ररी सोचविचार र छानविन गरेर निर्णय लिनुपर्नेमा जोड दिए ।
उनी बोल्दाबोल्दै महामन्त्री पाण्डेले हस्तक्षेप गरेर प्रतिवाद गरेका थिए । पाण्डेले व्यक्तिगत स्तरमा ओर्लेर होच्याएपछि श्रेष्ठले जवाफ फर्काएका थिए । उनले आफूहरु राप्रपालाई भ्रष्टाचार विरोधि पार्टी मानेर आएको तर अझै पनि भ्रष्टाचार आरोपिहरु पार्टीमा रहेको बताए ।
‘म नयाँ हुँ तर तपाईंजस्तो भ्रष्टाचारी होइन भनेपछि पाण्डे मलाई भ्रष्टाचारी भन्ने भन्दै बम्किएका थिए । श्रेष्ठले पनि तपाईं भ्रष्टाचारी नै हो भनेपछि पाण्डेले मान्छे बोलाएर कुटेको आरोप छ । आक्रमणको नेतृत्वकर्ता नै बलायर थिए । उनीसँगै विक्रम पाण्डे निकटका युवाहरु आक्रमणमा संलग्न देखिएका छन् । राप्रपाको काठमाडौं क्षेत्र नम्बर ४ को अध्यक्ष रिद्दिप्रताप राणा, पाण्डे मन्त्री बन्दा सरकारी नियुक्ति पाएका हिम्मतजंग कार्की र विद्यार्थी नेता निराजन बम भिडिओमा पहिचान भएका छन् । उनीहरुविरुद्ध नै श्रेष्ठले जाहेरी दिएका हुन् । अरु अपरिचितहरु १०–१२ जना थिए ।