Butwal Today

जनमत, तमलोपा र जप्रपाबीच कार्यगत एकता

२७ फाल्गुन २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२७ फागुन । जनता प्रगतिशील पार्टी जप्रपा, तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा र जनमत पार्टी बीच कार्यगत एकताको घोषणा भएको छ ।
जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपा अध्यक्ष वृशेषचन्द्र लाल र जनमतका अध्यक्ष डा सीके राउतले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । देशका समसामयिक मुद्दा तथा समस्या समाधान गर्न तीनै पार्टी सहकार्य गर्न सहमत भएको संयुक्त जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधान संशोधन गर्न, सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्नलगायतका ७ बुँदामा तीनै पार्टी सहकार्य गरेका छन् ।

देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील रहन, उद्योग(धन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा र स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न पनि सहकार्यको गरेको तीनै दलका अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ‌।

जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबीच यसअघि नै सहकार्य भइरहेको छ । तर, अब जनमत पार्टी पनि मिसिएको छ ।