© २०२३
काठमाडौं,२७ फागुन । २०७९ मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफूले जित्दै आएको क्षेत्र छाडेर जिताएका बाबुराम भट्टराईले अबको चुनावमा उक्त क्षेत्रमा आफै लड्ने भएका छन् ।
गोरखा २ का जनतासँग बृहत् अन्तर्क्रियाका क्रममा त्यहांका मतदाताले भट्टराई नै यहां उम्मेदवार हुनुपर्छ भन्ने मत बलियोगरी राखेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उम्मेदवार बन्ने उद्घोष गरेको नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले बताएका छन् । ‘अन्तर्क्रियाका क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ’ नेता पाण्डेले भनेका छन्, ‘अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’
भट्टराईले २०७९ को चुनावमा उक्त क्षेत्र उदारतापुर्वक नछाडेको भए प्रचण्डले चुनाव जित्न मुस्किल थियो । चुनावैपिच्छे निर्वाचन क्षेत्र फेर्दै आएका प्रचण्डलाई भट्टराईको यो निर्णयले धक्का लागेको छ । अन्य दलसंग गठबन्धन नभएको अवस्थामा माओवादी केन्द्रले एक्लै लड्दा जित्न सक्ने मध्ये गोर्खा २ थियो । किनकी अरु एक्लै जित्न सक्ने क्षेत्र मध्येको सबैभन्दा सुरक्षित रुकुम पश्चिममा जनार्दन शर्मा आफै उम्मेदवार थिए । चितवनमा रवि लामिछाने उम्मेदवार हुने भएपछि प्रचण्ड डराएर गोर्खा पुगेका थिए । यदि चितवनमा चुनाव लडेको भए रविसंग नराम्रो पराजय ब्यहोर्ने निश्चित थियो ।
निर्वाचनमा भट्टराईले प्रचण्डलाई जिताएपनि चुनाव जितेर प्रधानमन्त्री भएपछि प्रचण्डले भट्टराईको गुन बिर्सेर बेवास्ता गरेका थिए । त्यति मात्र होइन भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीमा फाटो गराएर महिन्द्र राय यादव सहितको टिमलाई मात्रै माओवादीमा मिसाउने र भट्टराईलाई एक्ल्याउने रणनीति प्रचण्डको देखिएपछि भट्टराई झनै रुष्ट बनेका छन् ।