न्युज बुटवल टुडे
कपिलवस्तु, २५ फागुन ।
सशस्त्र प्रहरी बलले कपिलवस्तु जिल्लाका विभिन्न सिमा नाकामा भारतबाट प्रवेश गर्ने भारतीय मालबाहक सवारी साधनबाट अवैध रकम असुली गर्ने गरेको भेटिएको छ ।
सो विषयमा जनगुनासो बढेपछि बिहीबार साँझ सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरको कार्यालय कपिलवस्तु नगरपालिका वडा नम्बर ५ डंगरीमा निगरानी गर्दा सो तथ्य पुष्टि भएको हो । टुडेकर्मी साँझ ६ बजेर ५५ मिनेटमा पुग्दा नेपाल प्रवेश गरेको युपी ५३ डिटी ७९९७ नम्बरको भारतीय मालबाहक ट्रकका चालक ओर्लिएर बिओपी अघि रहेको चेकपोष्टमा पुगे । उनले भन्सारका कागजहरु सँगै नगद ५० रुपैयाँ बुझाए । चेकपोष्टमा रहेका सशस्त्र प्रहरीका जवानले पैसा लिएसँगै टुडेकर्मीले के को पैसा लिनु भएको ? भनेर प्रश्न गर्दा उनी आत्तिए । त्यसपछि ट्रक चालकसँग सोध्दा उनले पैसा दिएको स्वीकार गरे ।
सो क्रममा दृश्य लिएका टुडेकर्मीले आफु सञ्चारकर्मी भएको परिचयपत्र देखाएपछि पहिले ती सशस्त्र प्रहरी जवानले हातबाट मोबाइल खोस्न खोजे । दृश्य लिंदै गर्दा नशाको हालतमा रहेका सशस्त्रका अर्का प्रहरीले समाचार संकलनमा अवरोधको प्रयास गरे । सो पश्चात कार्यालय भित्र बसेर कुरा मिलाउन उनीहरुले टुडेकर्मीसँग आग्रह गरे ।
बिओपीमा बुझ्दा रकम असुल्ने सशस्त्र प्रहरीका सिपाही योगेश्वर राना र नशाको हालतमा समाचार संकलनमा अवरोध गर्न खोज्ने बरिष्ठ हवल्दार झम बहादुर केसी रहेको खुल्न आएको छ । सशस्त्र प्रहरीले नेपाल–भारत सिमाको मर्यादपुर, सुठौली भन्सार कार्यालय, सुठौली र बिओपीको कार्यालय डगरीमा गरी तीन स्थानमा ईन्ट्री गराउनु पर्ने नाममा भारतीय मालबाहक सवारी साधनबाट अवैध असृुली गर्दै आएको छ । भारतीय मालबाहक सवारी साधनले समेत अनावश्यक झन्झट व्यहोर्नु भन्दा ईन्ट्रीका बेला पैसा बुझाएरै उम्किने गरेको एक व्यवसायीले नाम नबताउने शर्तमा जानकारी दिए ।
सशस्त्र प्रहरीको सो अवैध असुली धन्दा बिओपीका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक लाप्साङ्ग तामाङ्गको निर्देशनमा चल्ने गरेको छ । तर तामाङ्ग भने अहिले घर बिदामा गएका छन् । तामाङ्गले सिमामा तस्करसँग सेटिङ्ग गरेकै कारण सुठौली भन्सार कार्यालयले भन्सार छलीका खाद्यान्न र सामग्री नियन्त्रणका लागि छापा हान्ने बेलामा समेत असहयोग गर्दै आएको खुलेको छ । दुई महिनाअघि यशोधरा गाउँपालिका वडा नम्बर ६ रंगपुरका केही घरमा अवैध भन्सार छलीका सामग्री नियन्त्रण गर्न छापा हान्दा बिओपी ईन्चार्जले असहयोग गरेको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेले निकटस्थ र केही सञ्चारकर्मीसँग गुनासो गर्ने गरेका थिए ।
सशस्त्रको असहयोगका कारण तस्करी नियन्त्रणमा समस्या पर्ने गरेको उनले बताउने गरेका छन् । यता अबैध असुलीबारे प्रतिक्रिया लिंदा सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेड क्वाटर कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले आफु जिल्लामा भर्खरै आएको बताउँदै गलत कार्य गरेकाहरुलाई संगठनले आवश्यक कारवाही गर्ने प्रतिक्रिया दिए ।