© २०२३
नेपालगञ्ज, २४ फागुन ।
डाँका समूहको कुटपिटबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँकेको जानकी गाउँपालिका–३ रुद्रपुर नयाँबस्तीमा बुधवार राति चोरी डकैती गर्ने उद्देश्यले घरमा परेका डाँका समूहको कुटपिटबाट स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष थारुको मृत्यु भएको हो । राति करिब १ बजे पाँच सातजनाको समूहमा आएका डाँकाले लुटपाट गर्दा थारु प्रतिकार गर्दा घाईते भएका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा बिहान ४ बजे मृत्यु भएको प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जनकारी दिए । उनका अनुसार मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको र अहिले स्वाथ्य अवस्था सामान्य रहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु दम्पतीले प्रतिकार गरेका थिए । डाँकाको समूहले दुईवटा कानको झुम्का, एउटा नाकको फुली, दुईवटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरी घटना स्थलमा पुगेर थारु दम्पतीको उद्धार गरेर अस्पताल पु¥याएको थियो । मृतक थारुको घर एकान्त खेतमा रहेको र घरमा सानो बच्चा र बृद्धाआमा सहित श्रीमान श्रीमती बस्दै आएको प्रहरीले जनाएको छ । घटना जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।